सभापतिमा देउवाको विकल्प छैन ; महत

काठमाडाैँ – नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले पार्टीको विधानले निर्वाचनबाट पदाधिकारी चयन गर्ने व्यवस्था गरेकाले पार्टीमा योगदान गरेका र चाहना राख्ने जो कोही पनि चुनावी प्रतिस्पर्धामा आउन सक्ने बताएका छन्।
वडा देखि केन्द्रसम्मको निर्वाचन प्रणालीका कारण धेरैलाई प्रतिस्पर्धामा जाने बाटो खोलेको भन्दै उनले योग्य र सक्षम उम्मेदवार आकांक्षीका रुपमा अघि आउन सक्ने बताए।
विधानले दोश्रो पुस्तालाई अगाडि आउन नरोकेको भन्दै उनले पुर्खाको योगदान वा पुर्खौली विरासतको आधारमा नभई पार्टीमा योगदान गरेको आधारमा उम्मेदवारी चयन गर्न सबै लाई आग्रह गरे। पार्टी भित्रका तीन पुत्र नेताहरुको भेटघाटलाई लक्षित गर्दे उनले पिताले गरेको योगदानको ब्याज खान पाउनुपर्छ भन्दा पनि योगदानको आधारमा स्थापीत हुनुपर्ने दाबी गरे।
भेटघाटले सकारात्मक संदेश नदिएको भन्दै उनले पार्टीमा ठूलो योगदान दिएका लाखौँ नेता कार्यकर्ताहरु रहेको बताए। उनले आफू सभापति पदका लागि पनि योग्य रहेको भए पनि उपसभापति या महामन्त्रीमा उम्मेदवारी दिने बताए। उनले राष्ट्रिय अन्तराष्ट्रिय परिस्थिति र वर्तमान विशिष्ट राजनितिक परिस्थितिमा बुझेर उपयुक्त नेतृत्व चयन गरिपर्ने बताए।
महतसँग महाधिवेशनको तयारी, आगामी नेतृत्व र उम्मेदवारीबारे अन्तरवार्ता
महाधिवेशन नजिकिएको छ व्यस्तता कत्तिको बढेको छ? कस्तो छ महाधिवेशनको तयारी?
हाम्रो महाधिवेशनलाई कोभिड १९ ले धेरै प्रभावित गर्यो। धेरै पटक कार्यतालिकामा संशोधन गर्नुपर्यो । नचाहँदा नचाहँदै यो परिस्थिति आयो । तर नेतृत्वले सबै कठिनाइका बाबजुद अधिवेशन गर्ने निर्णय गरेको छ। यसको तयारी सबै पक्षबाट भइरहेको छ। क्रियाशिल सदस्यता नामावलीको टुङ्गो लगाउने काम अन्तिम अवस्थामा छ। यसको टुङ्गो लागेपछि अधिवेशन जुनसुकै बेला गर्न सकिन्छ।
मौसमजन्य चुनौती र कोभिडको संक्रमणको चुनौती अझै छ। मौसम र कोभिडले असामान्य अवस्था ल्याएन भने तोकिएको समयमा महाधिवेशन सम्पन्न हुन्छ।
नेतृत्वलाई लिएर आकांक्षीहरु धेरै छन्। पार्टीको राजनीतिमा निरन्तर नेतृत्वमा भएका व्यक्तिहरु र नयाँ आकांक्षीहरु पनि देखिएका छन्। यसलाई कसरी व्यवस्थापन गरिनुपर्छ?
पार्टीको विधानले कोषाध्यक्ष बाहेक अधिकांश पदमा निर्वाचनको व्यवस्था छ। पालिकाको वडा देखि केन्द्रसम्म निर्वाचन हुन्छ। यसले धेरैलाई प्रतिस्पर्धामा जाने बाटो खोलेको छ। यसले आकांक्षी र उम्मेदवारलाई बढाउँछ।
यसबाट पहिलो पिंढी रामचन्द्र दाइ, शेर बहादुर दाइसँगै हामी पनि उम्मेदवार हुन सक्ने अवस्थामा पुगेका छौँ। यसले सबै पदहरुमा उम्मेदबार हुने संख्या बढ्यो। यस्तो अवस्थामा निर्वाचनले आफै व्यवस्थापन गर्छ।
अर्को व्यवस्थापन भनेको को व्यक्ति कोसँग प्रतिस्पर्धा गर्छ, निर्वाचनमा आन्तरिक रुपमा कसलाई कहाँ मिलाउने भन्ने हुन सक्छ तर को निर्वाचित हुने विषय त निर्वाचनले नै व्यवस्था गर्छ। यसमा चुनौति पनि छ अवसर पनि छ। त्यसैले सबैको व्यवस्थापन निर्वाचनले गर्छ। जहाँसम्म सभापतिको उम्मेदवारको कुरा हो हामीलाई पनि लाग्छ पार्टीमा महत्वपूर्ण जिम्मेवारी लिन तयार छौँ।
यसको बाबजुद राजनैतिक नेतृत्व भन्ने विषय बोलेर मात्रै पुग्दैन। पार्टी भित्र सम्मान दिने संस्कार पनि छ, सुझबुझ अनुभवको कुरा पनि छ, कतिपय कुरा राष्ट्रिय अन्तराष्ट्रिय परिस्थिति पनि हेर्नुपर्छ। अहिले विशिष्ट परिस्थितिमा हामी छौँ। यसलाई बुझेर नेतृत्व दिनुपर्ने प्रमुख विषय हो।
पार्टी सम्हाल्ने कुरा बाहिर देखिए जस्तो हुँदैन । यसकारणले मलाई लाग्छ अनुभव र पछिल्लो अवस्थामा दिनुभएको परिपक्क नेतृत्व जो शेरबहादुर देउवाले दिनुभएको छ। आलोचना टिप्पणीहरु होलान् देउवाको तर अहिलेको अप्ठेरो अवस्थामा उहाँले दिएको नेतृत्वलाई नै निरन्तरता दिनुपर्छ भन्ने ठूलो संख्या छ।

यसको अर्थ रामचन्द्र पौडेल, शेर बहादुर देउवा, शंशाक कोइराला, विमलेन्द्र नीधिलाई एकै ठाउँमा लडाउने हो त ?
यस्तो छ कुरा, अहिले उपसभापति दुईजना हुनुहुन्छ। पहिला एक जना हुनुहुन्थ्यो। महामन्त्री दुईजना निर्वाचित हुन सक्नुहुन्छ। यदि हामी सँगै काम गरौँ फलानो पद मलाई नै चाहिन्छ नभनेर अहिले नै हुनुपर्छ भनेर त्याग्ने हो भने ठाउँ छ। होइन म पछि गर्दिन अहिले नै हुनुपर्छ भन्ने कुरा आयो भने अवश्य पनि समस्या आउँछ।
ल फेरि पनि शेरबहादुर देउवा र रामचन्द्र पौडेल नेतृत्वमा नै दोहोरिने हो भने तपाईँहरुको राजनीतिक समय, उमेर र भविष्य ५ वर्ष पछाडि धकेलिने छ। यो बारे पनि कठोर भएर निर्णय गर्नुपर्ने बेला आएको होइन र ?
म आफूलाई पनि नेतृत्वको लागि योग्य ठान्छु। सभापति भएर पार्टीलाई हाँक्न सक्छु भन्ने लाग्छ। अगाडि शेरबहादुर देउवाको चर्चा गरेँ, रामचन्द्र दाइ पनि वरिष्ठ र बराबर अनुभव भएको नेता हुनुहुन्छ। हाम्रो अग्रज रहनुभएका दाइहरु हुँदा हुँदै अगाडि बढ्न सकिने अवस्था छैन। यसले हामीलाई नै घाटा छ भन्ने जान्दा जान्दै पार्टीको परम्परा र संरचनाले र अनुभवले दाइहरुको सान्दर्भिकता अहिले पनि छ।
हो, यो हामीले बुझेका छौँ। हामी केही वर्षपछि धकेलिनेछौँ तर हामी त्यो दाबी गरिरहेका छैनौँ। मेरो कुरा गर्नुहुन्छ भने म सहमहामन्त्री भईसकेँ सबै किसिमको अनुभव छ तर सभापति दाबी गरिरहेको छैन।
यस्तै अरु साथीहरुले पनि माथि दाबी गरिरहनुभएको छ जस्तै विमलेन्द्र जी पनि हुनुहुन्छ। निर्वाचनको समय आइसकेपछि कतिपय बन्छु भनेका हरु फेरि नबन्ने दाउमा पुग्नुहोला। कतिपय उम्मदवारी नै नदिएका साथीहरु नै अगाडि सर्नुहोला। त्यसकारण अहिले नै यस्तो भइसक्यो भन्ने अवस्था आइसकेको छैन।
पछिल्लो समय एकदमै चर्चामा रहेको प्रसंग ३ शीर्ष नेताका सुपुत्रहरु संयोगले सबैको पार्टी भित्र अलग अलग योगदान छ । यसलाई बंश वा नाताले जोड्नुपर्दैन। तीनै जनाको घरमा लञ्च मिटिङ्ग भयो यसले नयाँ गुट जन्मायो कि भन्ने छ। पार्टी भित्र दुई समूह अहिले पनि छ। यसलाई कसरी हेर्नुभएको छ?
उहाँहरुको भेटघाट मात्रैको कुरा त केही होइन तर हामी नेता पुत्र नै त्यसैको हैसियतले त्यसमा नै सीमित रहेर बैठक बस्यो। यसलाई आम कार्यकर्ता पंक्तिले सहज रुपमा लिएको छैन। यो पार्टी समग्र जनताहरुको छोराछोरीहरुको पार्टी हो।
उहाँका पिता जी नेताहरुले गरेको योगदान ठूलो छ। हाम्रो सम्मान पनि छ। तर यो पार्टी त मेरो बुबा मेरो आमा नेता थिएनन् भने पनि मेरो काम र योगदानको आधारमा हामी स्थापित हुन सक्छौँ।
हामी पार्टी सबै बर्ग, क्षेत्र आउनुपर्छ भनिरहेका छौँ। उहाँहरुले जसको बुबाहरु नेता हुनुहुन्थ्यो, त्यसमा मात्रै सीमित भएर पटक पटक बैठक बस्नुभयो। यसले उहाँहरुको लागि सकारात्मक संदेश दिएको जस्तो मलाई लाग्दैन। पार्टीमा लाखौँ नेता कार्यकर्ताहरु छन् सबैको धेरै थोरै योगदान छ।
कतिपय अवस्थामा उहाँहरुले गरेको भन्दा बढी योगदान गरेका साथीहरु छन्। यसकारण हामी मिल्यौँ भने मात्रै नेतृत्व आउँछ भन्ने कुरा कार्यकर्ताले सहज रुपमा स्वीकार गर्दैनन्। त्यसमा नेता पुत्र पनि बुबा नेता नभए पनि पार्टीमा योगदान गरेका सबै जोडिँदा सहज हुन्छ।
यो प्रसङ्गको अर्को पाटो पनि छ, अब शेरबहादुर देउवाको अर्को विकल्प खोज्नुपर्छ भन्ने मुख्य देखिन्छ। मान्नुहुन्छ?
विकल्प खोज्दा नेता पुत्र मा नै सीमित हुनुपर्छ भन्ने छैन नि । विकल्प खोज्न पाईन्छ । पिता नेता नभएका अरु पनि योग्य पात्र छन् नि। विकल्प खोज्न सकिन्छ । ठूलो प्रतिस्पर्धा छ तर यसमा नै सीमित हुनुपर्छ भन्ने छैन।
लामो समय शेरबहादुर देउवालाई आड, भरोसा, विश्वास, नेतृत्व सहयोग सबै गर्नुभएका विमलेन्द्र नीधि सभापतिको उम्मेदवार हुन्छु भनेर देउवा समूहबाट बाहिरीनुभएको छ । संस्थापन पक्षलाई यसले असर गर्छ । यसको मुल्यांकन कसरी गर्नुभएको छ ?
शेरबहादुर जीको उम्मेदवारी रहिरहँदा र विमलेन्द्र जीले म अलगै लड्छु भन्दा प्रभाव त पर्छ नै। प्रभाव पर्दैन भन्ने छैन। यस विषयमा धेरै साथीहरुले विमलेन्द्र जीलाई सल्लाह दिँदा अहिलेको अप्ठेरो अवस्थामा शेरबहादुर जीले एकपटक नेतृत्व गर्छु भन्नुभएको छ। समझदारी गरेर जाँदा राम्रो हुन्छ भनेर धेरैले भनेका छन्।
यद्यपि उहाँ (विमलेन्द्र निधि) ले लड्छु भन्नुभएको छ। तर म के भन्छु भने अहिले नै अन्तिम टुंगो लागिसक्यो भन्ने निष्कर्षमा पुग्नु हुँदैन। नोमिनेसन गर्ने बेलासम्म उहाँले विचार परिर्वतन गर्न सक्नुहुन्छ। त्यसपछि एउटा आम समझदारी पनि बन्न सक्दछ भन्ने मलाई लागेको छ।
तर उहाँ आफै उम्मेदवारी दिन योग्य हुनुहुन्छ। उहाँको अधिकार पनि छ। यसलाई सम्मान गर्दे अहिले नै छिनोफानो भईसक्याे अलग अलग बाटो लागिसक्नुभयो भन्ने मुल्यांकन अलि अपरिपक्क हुन्छ।
सबैले आ आफ्नो उम्मेदवारी दाबी गरिसकेका छन् तर तपाईँले गर्नुभएको छैन । तपाईँको दाबी कुन पदमा हो?
पार्टी सभापति स्वयंले पनि साथीहरुको बीचमा भनेपनि औपचारिक रुपमा घोषणा गर्नुभएको छैन। त्यसकारण हामीले पनि घोषणा गर्न हतार गर्नुभएन । तथापि म सहमहामन्त्री भइसकेको छु । पहिला नै महामन्त्रीको लागि दाबी थियो। त्यसको लागि योग्यता र पृष्ठभूमि मसँग छ । सभापति पदमा शेरबहादुर दाइ आफै लड्छु भनेकाले सभापति पदमा दाबी छैन।
म जाने भनेको महामन्त्री र उपसभापति पदमा हो। म चुनाव लड्ने हो। महामन्त्री वा उपसभापति पदमा लड्छु। नेतृत्व तहसँग पनि प्रारम्भिक कुरा भएको छ। यसको औपचारिक घोषणा समय आएपछि समझदारी र टिम बनेपछि घोषणा गर्नु उपयुक्त भनेर अहिले नगरेको हो। मैले दाबी गरेको पदमा पुग्दा गर्ने काम र दृष्टिकोण स्पष्ट छ।
फेरि पनि,नेतृत्वले तपाईँलाई यो पदका लागि लड्न तयार हुनुहोस् भनेर भनेको होला नि ?
यी कुराहरु भइसकेको छ । यी कुरा नभई म यसरी बोल्ने थिइनँ। त्यो राम्रो पनि हुँदैन। हामी संस्कार अगाल्छौँ। उत्ताउलो भएर राजनीति कहिले पनि गरेनौँ। यस विषयमा छलफल भएको छ।
तर औपचारिक रुपमा घोषणा कसैको पनि नभएको अवस्थामा मैले पनि नगरेको हो। तर म सहमहामन्त्री भन्दा माथि महामन्त्री अथवा उपसभापति पदमा लड्छु। यसको औपचारिक घोषणा केही समयपछि गर्छु।
यो समाचार देश सञ्चार अनलाईन बाट साभार गरिएको हो ।

राष्ट्रिय लिगमा जावलाखेल र प्लानिङ ब्वाइज विजयी
राष्ट्रिय लिग फुटबलमा हिजो भएका खेलमा जावलाखेल युथ क्लब र प्लानिङ ब्वाइज युनाइटेड विजयी भएका छन् । ललितपुरको सातदोबाटोमा रहेको एन्फा

सन् २०२८ मा हुने टी–२० विश्वकप खेल्ने १२ टोलीको टुंगो लाग्यो
सन् २०२८ मा अष्ट्रेलिया र न्यूजिल्याण्डमा हुने आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने १२ टोलीको टुंगो लागेको छ । भारत र श्रीलंकामा चलिरहेको

यू–१९ एशिया कप: नेपाल लगातार दोस्रो खेलमा पराजित
एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । आज भएको खेलमा नेपाल बङ्गलादेशसँग ७ विकेटले पराजित भयो







प्रतिकृया दिनुहोस