धनगढी प्रिमियर लिग उद्घाटन, सोमबार देखि खेल हुने

SITENAME

रेडियो सुदूर आवाज
माघ २६, शनिबार २०७५

धनगढी- रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको उद्घाटन गरिएको छ । धनगढी क्रिकेट एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको शनिबार धनगढीमा उद्घाटन गरिएको हो । सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले एक समारोहका बीच लिगको तेस्रो संस्करणको उद्घाटन गरे । बर्षाका कारण प्रतियोगिता उद्घाटन भए पनि खेलहरु भने सोमबार देखि मात्रै सुरु हुने भएका छन् । लगातारको बर्षाले फाप्ला मैदान हिलाम्मे भए पछि खेल दुई दिन सारिएको हो । दुई दिन खेल सारे सँगै नयाँ खेल तालिका पनि निकालिएको छ । सोमबार देखि दैनिक दुई वटा खेल हुनेछन । पहिलो खेलमा धनगढी स्टार्स र काठमाडौं गोल्डेन्स भिड्नेछन् । यस्तो दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर यूनाइटेड खेल्नेछन् ।


डीपीएलको पुरस्कार राशीमा यस पटक बृद्धि गरिएको छ । प्रतियोगिताको विजेताले ३० लाख नगद पुरस्कार पाउने भएको छ । यस्तै उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउने छन् । प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयरले (सुनको जुत्ता), प्रत्येक खेलका म्यान अफ द म्याचलाई रु १५ हजार, म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट मान्यता प्राप्त प्रतियोगितामा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ । टी –२० को आधारमा हुने प्रतियोगिताको लिग चरणमा प्रत्येक टिमले एकआपसमा एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसंगको विजेतासंग फाइनल प्रवेशको लागि खेल्नेछ ।