किन बनायो भारतले एकतर्फी काठेपुल ?

SITENAME

शंकरसिह धामी
देशको पश्चिमी सीमा दार्चुला जिल्लाको भूगोलमा पर्ने महाकाली नदीमा भारतीय पक्षले एकतर्फी काठेपुल बनाएको विषयले अहिले धेरैको ध्यानाकर्षण गराएको छ । राज्यको नीति निर्माण तहमा रहेका व्यक्तिसम्म पनि यो विषय पुगेको छ । तर राज्यका संयन्त्रबाट यस विषयलाई सम्बोधन गर्न सकिएको छैन ।

सञ्चारमाध्यमले यस विषयलाई प्राथमिकता दिएका छन् । अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा बनाइएका एकतर्फी काठेपुल र नेपाली भूमिमा बनाइएको बाटोको बारेमा राज्य सञ्चालकहरु गम्भीर हुनुपर्ने हो । नीतिनिर्माणको तहमा रहेको राजनीतिक नेतृत्व मात्रै होइन प्रशासनिक नेतृत्व गर्ने मन्त्रालयका सचिव, सहसचिव, सुरक्षा निकायका केन्द्रीय प्रमुखहरु यसबारे गम्भीर बन्नुपर्ने हो । तर भएको देखिंदैन ।

नेपाल र भारतबीच जनस्तरमा सदियौंदेखि घनिष्ठ सम्बन्ध रहँदै आएको छ । जनस्तरको सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्ध यति घनिष्ठ छ कि दुई वर्षअघिको भारतीय नाकाबन्दी असफल बन्न पुग्यो । भारतीय शासक प्रशासकहरुले लगाएको नाकाबन्दीलाई भारतको जनस्तरले भने समर्थन गरेनन् । पश्चिमी सीमाक्षेत्र दार्चुलाको भूगोलमा त नाकाबन्दीको आभाषसम्म भएन ।

किनकी नागरिकस्तरमा रहेको सम्बन्धले मानवीय पक्षलाई पहिलो प्राथमिकता दिएको छ । दार्चुला जिल्लामा मात्रै नेपाल भारत जोड्ने चारवटा झोलुंगे पुल छन् र सीतापुलमा एउटा काठेपुलमार्फत दुई देशबीच वैधानिक रुपमा नागरिकले आवतजावत गर्दछन् ।

यद्यपि अर्को विकल्प नहुँदा उकु र लाली क्षेत्रमा ट्यूव तथा व्यास गाँउपालिकाको क्षेत्रमा तुइनको यात्रा गर्न स्थानीयवासिन्दा बाध्य छन् । यसबारे दुबै देशका सुरक्षा अधिकारी जानकार नभएका होइनन्, तर जनस्तरको सम्बन्धका कारण ट्यूव र तुइनमाथि रोक लगाउने हिम्मत सुरक्षा निकायले गर्न सकेका छैनन् । एकआपसको घनिष्ठता र सुमधुर सम्बन्धले सुरक्षा चुनौती नरहेको जनस्तरको ठम्याई छ ।

पछिल्लो समय भारतीय पक्षबाट महाकाली नदीमा बनाइएका काठेपुलले सीमाक्षेत्रमा केही तरंग ल्याएको छ । वर्षौदेखि सीमाक्षेत्रमा दुई देशका बासिन्दाबीचको सुमधुर सम्बन्धलाई काठेपुल निर्माणको विषयले असर पुग्ने हो कि भन्ने चिन्ता र चासो पनि केही नागरिकको छ । यद्यपि काठेपुलको विषयले कानुनी र प्रशासनिकस्तरमा केही असहजता ल्याए पनि नागरिकस्तरमा कुनै समस्या नआउने वास्तविकता हामीमाझ छ ।

व्यास गाउँपालिकाको दुम्लिङभन्दा उत्तरतर्फको क्षेत्रमा महाकाली नदीमा अस्थायी काठेपुल निर्माण गर्नैपर्ने बाध्यता थियो । भारतीय पक्षले नबनाएपनि नेपालका व्यास क्षेत्रका बासिन्दाले यसवर्ष आफै पनि काठेपुल निर्माण गरी आवतजावत गर्नुपर्ने बाध्यता थियो । किनकी विगतमा भारतको मोटरबाटो र पैदल मार्ग प्रयोग गर्दै आएका व्यासवासीलाई यस वर्ष भारतीय क्षेत्रमा निर्माण भइरहेको सडकले समस्या गरेको गर्नेछ ।

भारतीय क्षेत्रमा निर्माण भइरहेको सडकका कारण पैदल मार्ग अवरुद्ध हुँदा भारतीय नागरिक र कैलाश मानसरोवर यात्रुहरुले पनि केही किलोमिटर नेपाली भूमिको यात्रा गर्नुपर्ने बाध्यता देखिन्छ । नेपाली भूमिको बाटो प्रयोगका लागि काठेपुल वा झोलुंगे पुलको निर्माण अनिवार्य बाध्यता बन्ने वास्तविकता छ ।  

फरक यति मात्र हो कि दुई देशका अधिकारीस्तरमा वा जनस्तरमा समान बुझाइ बनेपछि मात्र काठेपुल निर्माण गरिनुपथ्र्यो । व्यासक्षेत्रका बासिन्दाका साथै भारतीय नागरिकले पनि उच्च हिमाली वस्तीमा बसाई गर्ने समय आउन अझै डेढ महिना बाँकी छ ।

नेपालका छाङरु र तिंकर गाउँका साथै भारतीय क्षेत्रका ५ गाउँका बासिन्दाले बर्सेनि कुञ्चा सार्दछन् । भारतीय प्रशासनिक निकायले एकातर्फ नेपाली पक्षलाई पत्राचार गरी यो आवश्यकता र बाध्यताप्रति पहल गरेको देखिन्छ । तर अर्कोतर्फ दुई देशका अधिकारीस्तरमा छलफल र सहमति नभई काठेपुल निर्माण गर्ने, बाटो निर्माण गर्ने र भारतीय सडक निर्माणका लागि नेपाली भूमि भएर डोजर ढुवानी गर्ने कार्य गरेको छैन ।

छिमेकीलाई सहयोग गर्नु एकअर्काको धर्म हुन्छ । झन आफ्ना देशका नागरिकलाई समेत सुविधा पुग्ने विषयमा नेपाली प्रशासन लचिलो नहुने कारण छैन । तर समस्या यति मात्र हो कि भारतले नेपाली पक्षसंग समन्वय नगरी ठूल्दाईको जस्तो बलमिच्याईंको भूमिका देखायो ।

प्रशासनिकस्तरमा लामो समय लागेको अवस्थामा दुई देशको जनस्तरमा छलफल र पहल गरी तुइन सञ्चालन भएजस्तै काठेपुल बनाउन नसकिने होइन । यसका लागि नेपाल र भारत दुबै देशका स्थानीयबासिन्दा आफ्नो सरकार र प्रशासनिक निकायलाई दबाव दिन र सहमत गराउन सक्रिय हुनेथिए । अहिले निर्माण गरी प्रयोगमा ल्याइएका काठेपुललाई हटाउन सकिने अवस्था छैन ।

किनकी काठेपुल नेपाली पक्षले हटाउँदा सीमाक्षेत्रमा समस्या आउने र भारतीय पक्षबाट सहयोग हुने तथा यसका कारण समग्र सीमाक्षेत्रकै जनजीवन प्रभावित हुने धेरैको बुझाइ छ । यसका साथै डेढ महिनापछि तिनै काठेपुलको यात्रा गरेर व्यास क्षेत्रका वासिन्दाले पनि आवतजावत गर्नुपर्ने हुन्छ । त्यसकारण भारतबाट एकतर्फी रुपमा बनाइएका काठेपुल हटाइने सम्भावना न्यून छ ।

भारतीय पक्षले किन एकतर्फी रुपमा काठेपुल बनायो त रु यो प्रश्न उठ्नु स्वाभाविक छ । भारतले नेपालको प्रशासनिक पक्षसंग सहमति लिँदा समय बढी लाग्ने ठान्यो । नेपाली पक्षले पनि आवतजावत गर्ने भएकाले भारतीय पक्षलाई काठेपुल निर्माण एकतर्फी रुपमा बनाउन थप बल मिलेको छ ।

भारतीय क्षेत्रमा सडक निर्माण भइरहेकोले त्यसलाई गति दिन पनि कामदारको आवतजावतका लागि पनि काठेपुलको तत्काल आवश्यकता देखिएको हो । भारततर्फ हिँड्डुल गर्ने बाटो समेत नभएकाले भारतीय सुरक्षाकर्मी र सुरक्षाकर्मीको राशन र अत्यावश्यक सामान ढुवानी गर्ने भरियाले समेत काठेपुलको प्रयोग गर्नैपर्ने वास्तविकता पनि छ ।

दुम्लिङभन्दा दक्षिणतर्फको महाकाली नदीमा तुइन र ट्युवको यात्रा गर्नुपर्ने बाध्यतालाई पनि भारतीय पक्षले देखेको छ । नेपालीको आवश्यकता भएकाले तुइन र ट्युवको यात्रा भए जस्तै सीमाक्षेत्रमा भारतीय नागरिकको आवश्यकता भएको अव्यक्त तर्क पनि भारतीय पक्षको छ ।

त्यसमाथि झन अहिले बनाइएका काठेपुलबाट केही हप्तापछि नेपालका व्यासवासीले समेत यात्रा गर्नुपर्ने अवस्था भएकाले भारतीय पक्षले पुल निर्माणमा हतार गरेको देखिन्छ । तत्काल भारतीय क्षेत्रमा भइरहेको सडक निर्माणका कारण काठेपुलको निर्माण र प्रयोग भइरहेकोमा दुईमत छैन ।  

काठेपुलको प्रयोगलाई सीमाक्षेत्रमा व्यवहारिक रुपमा सहज बनाउन भारतीय पक्षले फागुन २१ गते पिथौरागढमा भएको सीमा बैठकमा राखेको छ । नियमित एजेण्डाबाहेक कैलाश मानसरोवर यात्रा नेपाली भूमिको प्रयोग गरेर सञ्चालन गर्ने नयाँ विषय बैठकमा राखिएको छ ।

जुन स्वाभाविक त छ । तर नेपालतर्फको सीमाक्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति र निगरानी गराउनुपर्ने विकल्प नेपाली पक्षसँग छ । यसका लागि गृह मन्त्रालय वा केन्द्रस्तरको अनुमतिको आवश्यकता पर्नेछ । सीमावर्ती क्षेत्रको अवस्था र गतिविधिबारे जानकारी राख्ने र दुई देशका स्थानीयबासिन्दाको आवतजावतलाई सहज र व्यवस्थित बनाउनुको विकल्प नेपाली पक्षसँग छैन ।

भारतीय पक्षलाई पनि भविष्यमा बल मिच्याईं ढंगले एकतर्फी कुनै पनि संरचना बनाउनमा रोक लगाउने वा आफ्नो सरोकार देखाउने महत्वपूर्ण दायित्व पनि नेपालको प्रशासनिक पक्षको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

खै त सिंह दरवार गाँउ गाँउमा ?

सिंहदरबार गाउघरमा पस्ने कुरा ले चर्चापाएको बिषयबस्तु प्राप्त नहुन सक्दा जनताहरु निराश बन्दै गएका छन,। करिब २० बर्षपछि मुलुक ले पाएको स्थानीय सरकार

SITENAME

डाक्टर केसी सजायको भागीदार नबन्न, के भगवान हुन् र ?

संजिव कार्की:.देशको मूल कानुन र संबिधान भन्दा माथि कोहि छैनन् । कानुनको नजरमा सबै नागरिक समान र एकै हैसियतमा रहनुपर्छ । विधिशास्त्रले कसैलाई नजिक र

SITENAME

महाभारतकी कुन्ती-२२

हरिविनोद अधिकारी/ जीवन भनेको भोगाइ रहेछ । जस्ले जस्तो भोग्यो, त्यस्तै धारणा बन्दो रहेछ । मलाई बाहिरबाट सबैले शान्त देख्छन्, धैर्य देख्छन् , खुसी