आमा बुवासँग सफलताको खुशी साट्न नपाएका चर्चित सेलिब्रेटी ।

SITENAME

काठमाडौं, – सन्तान सफल हुनुमा आमा बुवाको ठूलो भूमिका हुन्छ । आमा बुवाको साथ, सहयोग र हौसलाले नै एउटा सन्तानले जीवनको सही बाटो हिँड्ने अवसर पाएको हुन्छ । 

जसलाई आमा बुवाको साथ र सहयोग हुन्छ उसलाई जीवनमा अघि बढ्न सहज पनि हुन्छ । तर कसैलाई भने त्यो साथ मिल्दैन । तर पनि त्यस्ता व्यक्ति  सफलताको चुचुरोमा पुग्न सकेका हुन्छन् । आज हामीले यो सामाग्रीमा केही सफल व्यक्तिहरुलाई समेटेका छौं जसमध्ये कसैले सानैमा आमा गुमाए त कसैल बुवा । देशकै सफल र चर्चित व्यक्ति बन्दा उनीहरुले त्यो खुशी आफ्नो आमाबुवासँग साट्न पाएनन् । 

मदनकृष्ण श्रेष्ठ
व्रिकम सम्वत २००७ साल वैशाख ७ गते जितपुर फेदी काठमाण्डौंमा जन्मेका  वरिष्ठ कलाकार  मदनकृष्ण श्रेष्ठले जन्मेको ६ महिनामा आमालाई गुमाएर टुहुरो बने । आमाको दूध खाएर आमाको काखमै हुर्किने सौभाग्य उनले पाएनन् । 

बुवा  रामकृष्ण लाल श्रेष्ठ र आमा लक्ष्मी देवी श्रेष्ठको कोखबाट जन्मेका उनले आमाको काख गुमाएपछि बुवा र फुपुहरुको काखमा हुर्कने मौका पाए । वरिष्ठ हाँस्यव्यङ्ग्य कलाकार बनेका उनले जीवनमा यो सफलताको खुशी आमालाई सेयर गर्न पाएनन् । तर उनले बुवासँग भने यसको केही अनुभव, खुशी र सफलताहरु सेयर गर्ने अवसर पाए । 

हरिवंश आचार्य
विक्रम सम्वत २०१४ साल कार्तिक २७ गते काठमाण्डौंको गैरी धारामा जन्मेका हरिवंश आचार्य हाँस्यव्यङ्ग्यका अर्का वरिष्ठ कलाकार हुन् । बुवा होमन्जय आचार्य र आमा गणेश कुमारी आचार्यका कान्छा छोरा हरिले टुहुरो हुनुको पीडा राम्ररी बुझेका छन् । 

हरिवंशका बुवा होमन्जयले ५३ वर्षको उमेरमा १३ वर्षकी गणेशकुमारीसँग विवाह गरेका थिए । बुवा ७३ वर्षको हुँदा हरिवंश जन्मिए । उनले ६ वर्षको उमेरमा बुवालाई गुमाए । १३ वर्षको हुँदा उनकी आमाको निधन भयो । उनी दिदीहरुको छत्रछायाँमा हुर्केका हुन् ।  आमा बुवाको निधन हुने समयमा उनले कलाकारिताको सुरुवातै गरेका थिएनन् ।

टुहुरो दिनहरुमै उनले कलाकारिताको संघर्ष सुरु गरेका थिए । निरन्तरको संघर्षले उनलाई एउटा अब्बल कलाकारको रुपमा उभ्याइदियो । जीवनको यो खुशी आमा बुवासँग साट्न नपाउँदा कहिले काही हरिको मन चसक्क हुन्छ ।

राजेश हमाल
महानायकको ट्याग पाएका अभिनेता राजेश हमालले नेपाली सिने उद्योगमा दर्जनौं सफल सिनेमा दिएका छन् ।  परिवारको इच्छा विपरित सिनेमामा लागेर सफलता पाएका राजेश हमालका बुवा पनि यो संसारमा छैनन् ।

राजेशले २०४९ सालमा बुवालाई गुमाएका थिए । उनका बुवा रसियन राजदुत थिए । यसै क्रममा उनको निधन पनि रसियामै भएको थियो ।  बुवा जिवित हुँदै उनले सिनेमाको काम थालेका थिए । तर महानायकको ट्याग पाएपछि भने त्यो सफलता उनले बुवालाई देखाउन पाएनन् । बेला बखतमा विदेशमा हुने घटनामा राजेश हमाल निकै नै भावुक हुने गरेका छन् ।

गएको वर्ष अफगानिस्तानमा मारिएका नेपालीको शव नेपाल आएपछि उनले सामाजिक सञ्जालमा एक स्ट्याटस पोस्ट गर्दै विदेशमा आफन्त गुमाउनुको पीडा आफूले बुझ्ने भन्दै दिवंगत नेपालीहरुलाई श्रदान्जली दिएका थिए ।

दीपकराज गिरी
हाँस्य कलाकार दीपकराज गिरी पनि सानैमा आमा गुमाउने कलाकारमा पर्छन् । आमाको छत्रछायाँमा उनले जीवनका चार वर्ष मात्रै गुजारेका छन् । सानैमा आमाको मायाबाट टाढिएका दीपक लामो समयको संघर्षपछि जीवनमा सफल कलाकारको रुपमा स्थापित भए ।

तर उनले यो सफलताको खुशी आमासँग साट्ने सौभाग्य भने पाएनन् । उनले आफ्ना बुवालाई भने यो खुशी साट्न पाइरहेका छन् । दीपकका बुवा भने अहिले उनीसँगै छन् । कलाकार बन्नु अघि दीपकराज गिरीले असइको जागिर छोडेका थिए ।

प्रहरी सहायक निरिक्षकका भर्ना भएर उनले चार दिन काम गरे । तर सुरुवाती दिनमै यो ट्रेनिङ गाह्रो लागेपछि उनले यो जागिर छोडेर भाग्ने निधो गरे । उनी सरकारी जागिर छोडेर कलाकारिता तिर मोडिएका हुन् । 

दीपाश्री निरौला
कलाकार तथा निर्देशक दीपाश्री निरौलाले जीवनमा पाएको सफलता आमालाई देखाउन पाइनन् । तर उनको आमा प्रतिको श्रद्धा भने बढी नै छ । उनले आफ्नो मोवाइलको वाल र फेसबुक वालमा आमालाई राखेकी छिन् ।

जीवनमा पैसा कमाएर घर किनेको दिनमा उनले आमाको तस्विरलाई नै ल हेर्नुस १ आमा घर,  भनेर देखाएको बताउँछिन् । दीपाश्री १५ वर्षकी हुँदा उनकी आमाको देहान्त भएको थियो ।  उमेरमै आमाको निधन भएर बुवा एक्लो भएपछि दीपाश्रीले बहिनीहरुसँग मिलेर बुवाको दोस्रो विवाह गरिदिएकी थिइन् ।

उनकी दोस्रो आमाबाट पनि एउटा भाई र बहिनी  छन् । दीपाश्रीले आमाको निधन भएपछि नै अभिनयको सुरुवात गरेकी हुन् । टेलिसिरियल ‘अग्निपथ’बाट अभिनय थालनी गरेकी उनले त्यसपछि रेडियो नेपालमा दीपक राज गिरीसँग राम विलास र धनिया नामक कार्यक्रम सञ्चालन गरिन् । यस अवधिमा उनले केही सिनेमाहरुमासमेत अभिनेत्रीको रुपमा काम गरेकी थिइन् ।

पछि २०६० सालमा सुरु भएको ‘तितो सत्य’ले उनलाई एउटा कलाकारको रुपमा स्थापित गरिदियो । उनी ‘तीतो सत्य’ बनेपछि नै आफ्ना  खुशीका दिनहरु सुरु भएको बताउँछिन् । तर उनले यी सबै खुशीहरु आमासँगै बसेर सेयर गर्न भने पाइनन् ।

केदार घिमिरे
केदार घिमिरे अर्थात माग्ने बुढाले सात वर्षको उमेरमा आमा गुमाए । उनकी आमाको निधन फोक्सोको क्यान्सरका कारण भएको थियो । केदारले विवाहपछि कलाकारिताको सुरुवात गरेका हुन् । 

उनले यस अघि काठमाण्डौंका फुटपाथमा साग बेच्नेदेखि टेम्पो चलाउने र  घरमा रंङ लगाउने कामसम्म गरे । यिनै संघर्षका दिनमा सन्तोष पन्तको ‘हिजो आजका कुरा’बाट कलाकारिताको सुरुवात गर्ने अवसर पाएका उनले त्यसपछि जितु नेपालको  कार्यक्रम ‘गीतान्जली’मा काम गर्ने मौका पाए । उनले  तितो सत्य र जिरे खुर्सानीमा पनि काम गरे तर उनलाई २०६२ सालमा बनेको टेलिश्रृङखला ‘मेरी बास्सै’ले सफलता दियो ।

उनी मेरी बास्सैपछि माग्ने बुढाको रुपमा सबैको प्रिय कलाकार बन्न पुगे । उनको यो लोकप्रियता अहिले पनि कायमै छ । पछिल्लो समय उनी सिनेमामा हाँस्यकलाकारको रुपमा छाएका छन् । केदारले जीवनका यी खुसी आमासँग साट्ने अवसर भने पाएनन् ।

मनोज गजुरेल
हाँस्यव्यङ्ग्यका राजा मानिने कलाकार मनोज गजुरेल पनि बुवा  गुमाउने पीडामा परे । सानै छँदा बुवा बितेपछि उनले घरमासमेत धेरै बस्न पाएनन् । उनले घरभन्दा बाहिरै बसेर अध्ययन गरे । 

अध्ययनपछि कलाकारितामा लागेका उनले लामो समयको संघर्षपछि  हाँस्यकलाकारको परिचय पाए । अरुको गेटअप र आवाज हुबहु नक्कल गर्ने उनी नेपाली हाँस्यव्यङ्ग्य जगतमा कमेडी किङका रुपमा छाएका छन् । उनले यो सफलता आफ्नो बुवालाई देखाउन पनि पाएनन् ।

मनोजले यसै वर्ष अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि क्यारिकेचर गरे जसले उनी अमेरिकाका विभिन्न अनलाइनहरुमासमेत छाएका छन् । केही दिन अघि मात्रै उनलाई अमेरिकाको अनलाइन पोर्टल सीबीएसले  डोनाल्ड ट्रम्पको नक्कल गर्ने विश्वका १८ कमेडीयनहरुको सूचिमा समावेश गरेको थियो ।

विल्सन विक्रम राई
अर्का हाँस्यकलाकार विल्सन विक्रम राइले पनि जीवनमा धेरै दुख देखेका छन् । ९ वर्षको उमेरमा आमा गुमाएपछि उनले सानै उमेरमा परिपक्व भएर भाइबहिनीको जिम्मेवारीसमेत सम्हाल्नु परेको थियो । जीवनमा यिनै दुःख र जिम्मेवारीको यात्रा गर्दागर्दै उनले कलाकारितामा पाइला टेके । 

हिरो बन्न काठमाण्डौं आएका उनलाई सिनेमा भन्दा पनि हाँस्यव्यङग्य फाप्यो । उनको गृह जिल्ला झापामै भएको एक कार्यक्रममा केदार घिमिरे उर्फ माग्ने बुढाले उनलाई देखेपछि उनलाई ‘मेरी बास्सै’मा अवसर दिए । ‘मेरी बास्सै’मा  उनलाई तक्मे बुढाको रुपमा प्रस्तुत गरियो जुन चरित्रले उनको जीवनमा कायापलट गरिदियो ।  एकाएक विल्सन हाँस्यकलाकारको रुपमा सबैको प्रिय बने ।  

यसका अलावा उनले केही सिनेमाहरुमा पनि काम गरेका छन् । ‘मेरी बास्सै’मा काम गर्नुअघि नै उनले सिनेमा ‘सायद’मा काम गरेका थिए । तर उनको यो सिनेमा ‘मेरी बास्सै’ भन्दा पछि रिलिज भयो । ‘सायद’ रिलिज भएपछि उनलाई सिनेमामा पनि सफलता मिल्यो । त्यसपछि उनको कलाकारिता निरन्तर दौडिरहेको छ । नेपालमा सफल भइसकेका उनले दुइवटा हिन्दी सिनेमामासमेत काम गरिसकेका छन् ।

ऋचा शर्मा
अभिनेत्री ऋचा शर्माले २० वर्षको उमेरमा बुवालाई गुमाइन् ।  बुवा ५४ वर्षको हुँदा ऋचाको जन्म भएको थियो । बुवाको निधनताका ऋचाले मिस नेपालमा भाग लिएकी थिइन् भने केही म्युजिक भिडियोहरुमा काम गरेकी थिईन् ।

उनको सिनेमामा प्रवेश भइसकेको थिएन । पहिलो सिनेमा ‘फस्ट लभ’ रिलिज भएको समयमा  ऋचाले बुवालाई खुबै सम्झिइन् । सिनेमामा राम्रो गरेर राष्ट्रपतिको हातबाट अवार्ड पाउँदा पनि ऋचाले बुवालाई धेरै खोजिन् । उनी अझैपनि कुनै निर्णय तथा ठूलो सफलता मिल्दा बुवालाई नै सम्झिने गर्छिन् ।

पछिल्लो समयमा  ऋचा अभिनेत्रीका साथै निर्मात्री पनि बनेकी छिन् । उनले ‘आधा लभ’ र ‘सुनकेशरी’ जस्ता सिनेमा निर्माण गरेकी छिन् । सिनेमा ‘सुनकेशरी’ जेठ २१ गतेबाट प्रदर्शनमा आउँदैछ ।

नाजिर हुसैन
अभिनेता नाजिर हुसेनकी आमाले त उनी कलाकार भएको हेर्न पाइनन् । अहिले राम्रो अभिनयका कारण चर्चामा रहेका नाजिरले केही वर्षअघि मात्रै आमालाई गुमाएका हुन् ।

  

कलाकारिताको क्रममा काठमाण्डौंमा उनले एक हदसम्म खानकै लागि संघर्ष गर्नु परेको थियो । जसोतसो आफूलाई मन परेको काम गर्न पाएका नाजिरलाई जीवनमा सबै भन्दा ठूलो झड्का आमाको निधनले दिएको थियो । काठमणडौंमा आएर भर्खरै कलाकारिताको सुरुवात गरेका नाजिर उक्त दुखद खबरपछि आफ्नै गाउँ फर्के । शोकमा डुबेका नाजिरले कैयौँ दिन आमालाई दाहसंस्कार गरेको स्थानमा रोएर नै बिताएको बताउँछन् । 

उनका सिनेमा व्यवसायिक रुपमा खासै सफल नभए पनि उनी राम्रो अभिनेताको रुपमा चिनिएका छन् । नाटकबाट सिनेमामा फड्को मारिसकेका नाजिरले यो खुशी आमासँग साट्न नपाएको भन्दै हामीसँग दुःख प्रकट गरे ।

रजनी केसी
अभिनेत्री रजनी केसीका बुवा पनि यो संसारमा छैनन् । झण्डै चार वर्षअघि उनका बुवाको निधन भएको थियो । सिनेमा ‘परदेशी’बाट अभिनेत्रीको रुपमा चिनिएकी रजनीको कलाकारितालाई निरन्तर हेर्नको लागि उनका बुवा यो संसारमा छैनन् । 

यो कुराले रजनीलाई अत्यन्तै दुःख लाग्छ । पछिल्लो समयमा उनी आफ्नो आमालाई नै सबथोक मान्छिन् । सबै कुरा सेयर गर्ने साथी आमा भएको भन्दै उनले आमालाई नै प्रेमीको संज्ञा पनि दिइन् । उनले आमा, आमा मात्रै नभयर साथी, प्रेमी जे भने पनि उहाँ नै भएको बताइन् । 

छविराज ओझाको सिनेमा  ‘लोफर’बाट सिनेमामा डेब्यु गरेकी रजनी यतिबेला एपी वान च्यानलको टेन टु फाइन नामक सिरियलमा काम गरिरहेकी छिन् । 

प्रतिकृया दिनुहोस

नाईं नभन्नु ल ५ को शिर्ष गीत 

रेडियो सुदूर आवाज बुधबार साउन ९, २०७५ चलचित्र ‘नाईं नभन्नु ल ५’को शिर्ष गीत रिलिज भएको छ । सार्वजनिक गीतमा मेलिना राइको स्वर, दिनेश थपलियाको शब्द,

SITENAME

३५ भइन् कट्रिना

रेडियो सुदूर आवाज बुधबार साउन ९, २०७५ एजेन्सी बलिउडकी सुन्दर अभिनेत्री कट्रिना कैफ ३५ औं वर्षमा प्रवेश गरेकी छिन् । यसपटकको जन्मदिनमा उनी

SITENAME

रेखा थापाको चलचित्र मालिकाको पहिलो गीत ‘हल्का माया के माया‘’ रिलिज

रेडियो सुदूर आवाज मंगलबार १ साउन २०७५  – काठमाडौं र नायिका रेखा थापाले निर्देशन गरेको चलचित्र ‘मालिका’को ‘हल्का माया के माया, गाढा